रसुवा । चीनको लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न गाउँ, बजार तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढी आएको दुई साता बितिसक्दा पनि स्थानीय तहका कार्यालय, कर्मचारी र जनप्रतिनिधिसमेत बेपत्ता भएकाले क्षतिको यकिन तथ्यांक संकलनमा कठिनाइ भएको छ।

नेपाल–चीन सीमाबाट रसुवातर्फ आएको बाढीले घट्टेखोला बस्ती, टिमुरे बजार, स्याफ्रुबेसी, मैलुङ, शान्तिबजार, पैरेबेसी, खाल्टे, नौबिसे, कैदलेटार, बेत्रावती बजार तथा नुवाकोटको तुप्चे र त्रिशूली बजारलगायतका क्षेत्रलाई ठूलो क्षति पुर्‍याएको छ।

बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ र ५ का वडा कार्यालयसमेत बगाएको छ। ती वडाका सात जना जनप्रतिनिधि तथा गाउँपालिका उपाध्यक्ष प्रतिमा लामासमेत बेपत्ता रहेको प्रारम्भिक विवरण छ।

कर्मचारी र जनप्रतिनिधि नै बेपत्ता भएपछि गाउँपालिकामा तथ्यांक संकलनको काम झनै जटिल बनेको छ। कुन घर बाढीमा परे, कति मानिस बेपत्ता भए र कतिको मृत्यु भयो भन्ने यकिन विवरण संकलन गर्न समय लाग्ने गाउँपालिकाले जनाएको छ।

गोसाइँकुण्ड गाउँपालिकाका सूचना अधिकारी अर्जुन डोटेलले विनाशकारी बाढीमा धेरै साथीहरू बेपत्ता भएको शोक र चिन्ताबीच पनि तथ्यांक संकलनको काम अघि बढाइरहेको बताए। उनका अनुसार गाउँपालिकाभर घरधुरी तथा क्षतिको व्यवस्थित विवरण संकलन भइरहेको छ।

स्वास्थ्य शाखा प्रमुख विमल घिमिरेका अनुसार कर्मचारी र जनप्रतिनिधिसहित स्थानीय तथा बाहिरी जिल्लाबाट आएका नागरिकसमेत बेपत्ता भएकाले तथ्यांक संकलन निकै जटिल बनेको छ। उनका अनुसार कर्मचारी मात्रै २१ जना र जनप्रतिनिधि सात जना बेपत्ता छन्।

मानसरोवर र कैलाश जाने यात्रु, स्थानीय जलविद्युत् आयोजनाका कामदार तथा प्राविधिकसमेत बाढीमा परेको हुन सक्ने भएकाले उनीहरूको यकिन संख्या पत्ता लगाउन थप कठिन भएको छ। हालसम्म शव फेला परी पहिचान भएका दुई जनाको मात्र विवरण प्राप्त भएको जनाइएको छ।

प्रारम्भिक तथ्यांकअनुसार गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा १६३ घरधुरी र वडा नं. ५ स्याफ्रुबेसीमा १२३ घरधुरी बाढीले बगाएको छ। ती वडाका झण्डै ५०० विस्थापित काठमाडौंको स्वयम्भूस्थित एलो र मुस्ताङ गुम्बामा आश्रय लिएर बसेका छन्।

गाउँपालिकाका अनुसार वडा नं. १ मा १११, वडा नं. २ मा १९९, वडा नं. ३ मा १७, वडा नं. ५ मा १६६ र वडा नं. ६ मा ५२ जना बेपत्ता भएका छन्। कर्मचारी २१ जना र जनप्रतिनिधि सात जनासहित प्रारम्भिक रूपमा ५७३ जना बेपत्ता रहेको विवरण छ। यकिन तथ्यांक आउँदा यो संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा शव व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा स्थापित बस्तीहरू खण्डहरमा परिणत भएका छन्। घट्टेखोला, टिमुरे बजार, दाहालफेदी, स्याफ्रुबेसी बजार, मैलुङ, सल्लेटार, शान्तिबजार, पैरेबेसी, खाल्टे, कैदलेटार, बेत्रावती बजार, रसुवा–नुवाकोट सीमाका तुप्चे तथा सोलेबजार र त्रिशूली बजारलगायतका बस्ती प्रभावित भएका छन्।

बाढीले विभिन्न स्थानका पुल, स्वास्थ्यचौकी, विद्यालय तथा स्थानीय तहका सरकारी भवनसमेत बगाएको छ। उत्तरगया गाउँपालिका भवन, गोसाइँकुण्ड गाउँपालिका भवन तथा गोसाइँकुण्ड गाउँपालिका–२ र ५ का वडा कार्यालय भवनमा समेत ठूलो क्षति पुगेको छ।