भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन्।

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार साँझ नयाँ दिल्लीमा शाहसँग भेट गरेको हो। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।

रास्वपाका अनुसार भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको बताइएको छ।

यसअघि मंगलबार नै लामिछानेले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन तथा भारतका विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गरेका थिए। ती भेटहरूमा समेत नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको बताइएको छ।

रास्वपा सभापति लामिछाने सोमबार पाँच दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका हुन्। भ्रमणका क्रममा उनले भारतका राजनीतिक नेतृत्व, सरकारी अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग भेटघाट गरिरहेका छन्।

नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक तथा कूटनीतिक सहकार्य विस्तार गर्ने र लोकतान्त्रिक अभ्यासबारे अनुभव आदानप्रदान गर्ने उद्देश्यसहित लामिछानेको भारत भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।