उदयपुर।।विदेशिएका मनकारी नेपालीले बेसहारा बनेकी महिलालाई घर बनाइदिएका छन् । जङ्गली हात्तीले घर भत्काइदिएपछि बेसहारा बनेकी उदयपुरकी ७६ वर्षीया एकल वृद्धालाई कतारमा रहेका उदयपुरका युवाहरूले आर्थिक सहयोग जुटाएर घर बनाइदिएका हुन् ।
त्रियुगा नगरपालिका–७ तिलबारीकी दलमाया रिखाम मगरको गत माघमा जङ्गली हात्तीले घर भत्काइदिएको थियो । घरविहीन बनेको प्रवासी सेवा समाज कतार उदयपुरले आर्थिक सहयोग सङ्कलन गरेर घर बनाइदिए पछि उान दङ्ग परे।
प्रवासी सेवा समाज कतार उदयपुरका महासचिव सञ्जीप कटुवालका अनुसार कतारमा वैदेशिक रोजगारीमा रहेका उदयपुरका युवाहरूबाट रु दुई लाख सङ्कलन गरी जस्ताको छाना भएको घर निर्माण गरिदिएका हुन् ।
सङ्कलन गरिएको रकमबाट आवश्यक निर्माण सामग्री खरिद गरिएको थियो भने स्थानीयवासीले काठपात, ढुङ्गा, गिट्टी र बालुवा सहयोग गरेका थिए । “कतारमा रहेका उदयपुरे युवाहरूबाट रु दुई लाख सङ्कलन गप्यौँ । त्यसबाट आवश्यक निर्माण सामग्री किन्यौँ । स्थानीयवासीले पनि सामग्री सहयोग गरे। सबैको सहयोगमा घर निर्माण गरेर हस्तान्तरण गर्न सफल भएका छौँ,” कटुवालले भने।
दलमायाले १५ वर्षअघि श्रीमान् गुमाउनुभएको थियो । उनका एक छोरा भए पनि उनि काठमाडौंमा मजदुरी गर्दै आएका छन् । एक्लै बस्दै आएकी दलमायाको दैनिकी एकल महिला भत्ताको रकम र आफन्तको सहयोगमा चल्दै आएको छ ।
आर्थिक अभावबीच जीवन गुजार्दै आएकी उनलाई जङ्गली हात्तीले पुरानो घरसमेत भत्काइदिएपछि बसोबासको थप समस्या परेको थियो । समाजका पूर्वअध्यक्ष होमबहादुर बस्नेतका अनुसार दलमायाको पुरानो घर थाकल र माटोले बनेको फुसको घर थियो ।
हात्तीले घर भत्काएपछि उनलाई सुरक्षित आवासको आवश्यकता महसुस गरी संस्थाको पहलमा नयाँ घर निर्माण गरिएको हो । नयाँ घर पाएपछि दलमाया पनि खुसी भएकी छन् । अभावबीच जीवन बिताउँदै आएकी उनले अब सुरक्षित घरमा दसैँ मनाउन पाएकी छन ।
“एकल महिला भत्ता र आफन्तको सहयोगमा खाद्यान्नको जोहो गर्दै आएकी छु । अब नयाँ घरमा दसैँ मनाउने छु,” खुसी हुँदै दलमायाले भने ।रासस



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्