मुस्ताङ । बेनी–जोमसोम सडक सञ्चालनमा आएसँगै मुस्ताङबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौंलगायत सहरी क्षेत्रतर्फ गएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार अवरुद्ध सडक खुलेसँगै कोरला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनर मुस्ताङबाट बाहिरिन थालेका छन् । सडक अवरुद्ध हुँदा ती कन्टेनर दुई सातादेखि मुस्ताङमै रोकिएका थिए ।

दुई दिनमा १७३ कन्टेनर

बस्यालका अनुसार असोज २३ गते साँझ मर्मतपछि सडक सुचारु भएको हो । सडक खुलेको पहिलो दिन ८५ र दोस्रो दिन ८८ वटा कन्टेनर मुस्ताङबाट बेनीतर्फ बाहिरिएका छन् ।

३९१ सवारीसाधन बाहिरिए

म्याग्दी र मुस्ताङको सिमाना थासाङ–४ घाँसास्थित प्रहरी चौकीका अनुसार सडक खुलेको दुई दिनमा ३९१ वटा विभिन्न सवारीसाधन मुस्ताङबाट बाहिरिएका छन् । आज मात्र ५० भन्दा बढी सवारीसाधन बाहिरिएका छन् ।