एक साताअघि मात्रै १ डिग्री सेल्सियससम्म झरेको लन्डनको तापक्रम आइतबार अचानक ३० डिग्री नाघ्यो। लामो समयदेखि चिसो, असिना, वर्षा र प्रतिकूल मौसम झेलिरहेका बेलायतवासीका लागि यो घाम विशेष उत्साहको दिन बन्यो। यही घमाइलो वातावरणबीच बेलायतस्थित नेपाली समुदायको सबैभन्दा ठूलो खेलकुद तथा सांस्कृतिक कार्यक्रमका रूपमा परिचित २४औँ गोर्खा कप अल्डरसटस्थित ऐतिहासिक क्वीन्स एभिन्यू मैदानमा भव्य रूपमा सम्पन्न भयो।

ब्रिटिस सैन्य क्षेत्रभित्र पर्ने करिब ८९ एकड क्षेत्रफलमा फैलिएको क्वीन्स एभिन्यू मैदान आइतबार नेपाली समुदायको रौनकले भरिएको थियो। पाँच वटा फुटबल मैदान, चार वटा सिक्स–ए–साइड मैदान र चार वटा रग्बी मैदान रहेको विशाल खेलस्थलमा हजारौँ नेपाली समुदाय एकत्रित भएका थिए।

तमुधिं यूकेको आयोजनामा सम्पन्न प्रतियोगितामा करिब २० हजार दर्शक सहभागी भएको मिडिया संयोजक एसके गुरुङले जानकारी दिए। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष झण्डै चार हजार बढी सहभागी भएका थिए।

गोर्खा कप केवल फुटबल प्रतियोगिता मात्र बनेन, यो नेपाली समुदायको सांस्कृतिक महोत्सवकै रूपमा देखियो। मैदान वरिपरि नेपाली खाना, च्यारिटी, आइसक्रिम, बबल टी, लत्ताकपडा, बालबालिकाका लागि फन फेयर तथा नेपालीद्वारा सञ्चालित व्यवसायसहित १२६ वटा स्टल राखिएका थिए। नेपाली संगीत, परम्परागत पोशाक र भेटघाटले मैदानलाई ‘मिनी नेपाल’को झल्को दिएको थियो।

बिहान ९ बजेदेखि सुरु भएको प्रतियोगितामा यस वर्ष ५६ टोलीले प्रतिस्पर्धा गरेका थिए। मुख्य पुरुष क्याटेगोरीमा ३८, भेट्रानतर्फ १६ र महिलातर्फ २ टोली सहभागी थिए।

मुख्य पुरुषतर्फ राङभाङ समाज यूके विजेता बन्न सफल भयो। फाइनलमा राङभाङ समाजले गुरुजी इलिट एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो। विजेता टोलीले ३ हजार ५ सय पाउण्ड नगद, ट्रफी, शिल्ड र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता गुरुजी इलिट एफसीले २ हजार पाउण्डसहित ट्रफी र प्रमाणपत्र हात पार्‍यो।

राङभाङ समाज यूकेका साम गुरुङ उत्कृष्ट म्यानेजर घोषित भए भने नेप्जुम एफसीका एनियोला अलामो टप स्कोरर बने। विजेता टोलीकै न्वाङ शेर्पा प्लेयर अफ द म्याच घोषित भए।

भेट्रानतर्फ एफसी ०४ विजेता र प्लमस्टिड एफसी उपविजेता बने। विजेताले १ हजार ८ सय पाउण्ड तथा उपविजेताले १ हजार २ सय पाउण्ड पुरस्कार प्राप्त गरे। एफसी ०४ का सोम थापा उत्कृष्ट म्यानेजर, निशान्त गुरुङ टप स्कोरर तथा शेरजंग थापा प्लेयर अफ द म्याच घोषित भए।

महिलातर्फ तामाङ समाज एफसीले उपाधि जित्दा राउन्डबोल्ट एफसी रनरअप बन्यो। विजेता टोलीले ६ सय पाउण्ड र उपविजेताले ४ सय पाउण्ड पुरस्कार प्राप्त गरे। तामाङ समाज यूकेकी खेलाडी सुक लामु तामाङ प्लेयर अफ द म्याच घोषित भइन्।

विजेता खेलाडी तथा टोलीलाई रसमोर बरो काउन्सिलका मेयर क्यालुम स्टेवार्ट, तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङ, एनआरएनएका केन्द्रीय अध्यक्ष डा. हेमराज शर्मा, नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहलगायतले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर स्टेवार्टले गोर्खा कपले स्थानीय व्यापार, पर्यटन र समुदायबीचको सम्बन्ध मजबुत बनाउन सहयोग पुर्‍याएको बताए। तमुधिं यूके अध्यक्ष जुमकाजी गुरुङले गोर्खा कप अब केवल एउटा प्रतियोगिता नभई बेलायतस्थित सम्पूर्ण नेपाली समुदायको साझा उत्सव बनेको बताए।

कार्यक्रम संयोजक क्याप्टेन दीपक घलेले स्वयंसेवक, खेलाडी, प्रायोजक र दर्शकप्रति आभार व्यक्त गरे। कार्यक्रम सफल बनाउन तमुधिं यूकेका पदाधिकारी, आमा समूह, स्वयंसेवक र विभिन्न संयोजकहरूको महत्त्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा सयपत्री कल्चरल ग्रुपका बालबालिकाले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। नेपाली खाना, संगीत, पोशाक र सामुदायिक भेटघाटले गोर्खा कपलाई बेलायतमा नेपाली पहिचान जोगाउने विशेष पर्वका रूपमा स्थापित गरेको देखिन्थ्यो।

गोर्खा कपको मुख्य उद्देश्य नेपाली युवामा खेलकुद विकास गर्नु, लागूऔषध दुव्र्यसन न्यूनीकरणमा सचेतना फैलाउनु, स्थानीय समुदायसँग सहकार्य बढाउनु र नेपाली समुदायलाई एकताबद्ध बनाउनु रहेको आयोजकले जनाएको छ।

सन् २००० मा स्थापना भएको तमुधिं यूके बेलायतको अग्रणी नेपाली सामाजिक संस्थामध्ये एक हो। संस्थाले गोर्खा कप, नेपाली मेला र ल्होछार महोत्सवजस्ता ठूला कार्यक्रम आयोजना गर्दै आएको छ।

आइतबार क्वीन्स एभिन्यू मैदानमा देखिएको उत्साह, सहभागिता र नेपालीपनले फेरि एकपटक प्रमाणित गर्‍यो—विदेशी भूमिमा रहे पनि नेपाली समुदाय आफ्नो भाषा, संस्कृति, खेलप्रेम र सामुदायिक भावना जोगाउन अझै उत्तिकै प्रतिबद्ध छ।