काठमाडौंको व्यस्त जीवनबाट केही दिनको बिदा लिएर गोरखा पुगेका रमेश थापाले यस वर्षको असारमा गाउँको बदलिएको यथार्थलाई नजिकबाट नियालेका छन्। बाल्यकालमा रोपाइँ, मेलापर्म, रोपाइँ गीत र सामूहिक श्रमले भरिएको असार अहिले भने सुनसान र खल्लो बनेको अनुभूति उनले गरेका छन्।

रमेश थापाका अनुसार गोरखाको शहीद लखन गाउँपालिका–७ अन्तर्गत पर्ने ज्यादल फाँट, जहाँ विगतमा असार लाग्नासाथ खेतभरि किसानको चहलपहल हुन्थ्यो, अहिले धेरै खेत बाँझै छन्। कतै सिरु र झार उम्रिएको छ भने कतै वृद्धवृद्धाले मात्र रोपाइँ गरिरहेको दृश्य देखिन्छ। गाउँका युवाहरू वैदेशिक रोजगारी र शहरतर्फ पलायन भएपछि खेतीपाती गर्ने जनशक्ति अभाव भएको छ।

एक समय गाउँमा ‘आज तिम्रो खेत, भोलि मेरो खेत’ भन्ने मेलापर्मको परम्परा थियो। नगदभन्दा श्रमको आदानप्रदानलाई प्राथमिकता दिइन्थ्यो। रोपाइँ, गोडमेल र बाली भित्र्याउने समयमा गाउँलेहरू एकअर्काको खेतमा सघाउने गर्थे। यही संस्कारले गाउँमा सामाजिक एकता र आत्मीयता कायम राखेको थियो।

तर अहिले त्यो परम्परा हराउँदै गएको छ। खेतमा काम गर्ने श्रमिक पाउनै कठिन हुन थालेको छ। पैसा दिएर पनि कामदार नपाइने अवस्था सिर्जना भएको छ। गाउँमा काम गर्ने उमेरका मानिस घट्दै जाँदा धेरै किसानले चाहेर पनि सबै खेतमा खेती गर्न नसक्ने अवस्था आएको छ।

रमेश थापाले यो अवस्था केवल आफ्नो गाउँको मात्र नभई नेपालका अधिकांश ग्रामीण बस्तीको साझा यथार्थ भएको उल्लेख गरेका छन्। असारको हरियालीसँगै गाउँको सामूहिक संस्कृति पनि विस्तारै ओझेलमा पर्दै गएको उनको निष्कर्ष छ।

z