काठमाडौं । लियोनेल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तिम खेल खेल्ने भएका छन्।
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका मेसीलाई अर्जेन्टिना फुटबल संघले आगामी ६ अक्टोबरमा हुने बेनिनविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीमा समावेश गरेको छ।
ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा हुने उक्त खेल मेसीको राष्ट्रिय टोलीसँगको औपचारिक बिदाइका रूपमा रहने बताइएको छ।
अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले सामाजिक सञ्जालमार्फत मेसीको बिदाइको पुष्टि गरेका छन्। मेसीले पनि उक्त खेल खेल्ने निमन्त्रणा स्वीकार गरेका छन्।
मेसीको बिदाइका अवसरमा सन् २०२२ को विश्वकप जितेको अर्जेन्टिनाको टोलीका खेलाडी तथा उनीहरूका परिवारलाई समेत खेलमा आमन्त्रण गरिने भएको छ।
मेसीले सन् २००५ मा अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। त्यसयता उनले राष्ट्रिय टोलीका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्।
अर्जेन्टिनाले सेप्टेम्बर–अक्टोबरको अन्तर्राष्ट्रिय खेल अवधिमा बोलिभिया र बुर्किना फासोसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ। तर अक्टोबर ६ को बेनिनविरुद्धको खेल मेसीको बिदाइका कारण विशेष रहनेछ।
राष्ट्रिय टोलीबाट उनको यात्रा अन्त्य भए पनि मेसी क्लब फुटबलमा भने सक्रिय छन्। उनी अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्