तेह्रथुम।। अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य, शिक्षा तथा सामाजिक पुनःस्थापनामा पहुँच बढाउने उद्देश्यले यहाँ क्रियाशील करुणा फाउन्डेसनले जिल्लामा एक हजार ७९३ जना अपाङ्गता भएका व्यक्तिको अभिलेख तयार गरेको छ ।

फाउन्डेसनले एक हजार ७६३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गर्नाका साथै महिला स्वास्थ्य स्वयंसेविका अभिमुखीकरण तथा परिचालन, अपाङ्गता भएका व्यक्तिका लागि सहायक वितरण, मानसिक स्वास्थ्य परामर्श तथा स्वास्थ्य शिविर, अल्पकालीन सीपमूलक तालिम सञ्चालन गर्दै आएको जनाएको छ ।

जिल्लाका छ स्थानीय तहमा ती कार्यक्रम सञ्चालन भएका र हालसम्म रु एक करोड ७४ लाख ११ हजार खर्च भएको कार्यक्रम संयोजक केदार भण्डारीले राससलाई बताए।

प्रदेश र स्थानीय सरकार तथा फाउन्डेसनको समन्वयमा आर्थिक वर्ष २०८१÷८२ देखि छ वटै स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेका छन् ।रासस