काठमाडौं।। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा भव्य रूपमा मनाउने निर्णय गरेको छ । यही साउन १३ गतेको रास्वपा केन्द्रीय समितिको बैठकले अन्तरराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले पूर्वमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई अन्तरराष्ट्रिय युवा दिवसको आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छ । आयोजक समिति सदस्यमा केन्द्रीय सदस्य, सांसद एवं पार्टीका युवा नेताहरू हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, चन्दनकुमार ठाकुर, भरत केसीलगायत थिए ।

संयुक्त राष्ट्रसङ्घको घोषणाबाट सन् १९९९ देखि अगस्ट १२ का दिन अन्तरराष्ट्रिय युवा दिवस मनाउने गरिएको छ । आयोजक समितिको बैठकले प्रदेशमा अन्तरराष्ट्रिय युवा दिवस मनाउन समन्वय गर्ने सदस्यको जिम्मेवारी तोक्ने र उपसमिति निर्माण गर्ने निर्णय गरेको नेता बुर्लाकोटीले राससलाई जानकारी दिए।

उनका अनुसार दिवसका अवसरमा नीति मन्थन, ‘संसद्सम्म युवाको आवाज’ अन्तरसंवाद, राष्ट्रव्यापी सरसफाइ, खेलकुद, रक्तदानलगायत कार्यक्रम हुनेछन् । रासस