काठमाडौं । उत्तरी गोरखाको हिमाली भेगमा हिउँपहिरो खसेपछि बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले आरुघाटस्थित पुल बगाएको छ । नदीको जलसतह खतराको तहभन्दा निकै माथि पुगेसँगै धादिङ र गोरखा जोड्ने मुख्य सडक सम्पर्क विच्छेद भएको छ ।

चुमनुब्री गाउँपालिकाको लोक्पा र चुमलिङ क्षेत्रमा हिउँपहिरो खसेर नदी थुनिँदै र फुट्दै आएपछि बूढीगण्डकीमा लेदोसहितको बाढी आएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, धादिङ, तनहुँ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले आरुघाट बजार क्षेत्र जलमग्न भएको र धादिङ जोड्ने पुल बगेको पुष्टि गरे ।

शाहस ऊर्जाको संरचनामा क्षति, १८ कर्मचारी सुरक्षित

उप्रेतीका अनुसार बाढीले शाहस ऊर्जा कम्पनीको तल्लो संरचनामा क्षति पुर्‍याएको छ । त्यहाँ कार्यरत १८ जना प्राविधिक तथा कर्मचारी सुरक्षित स्थानमा छन् र उनीहरूको उद्धारको प्रयास भइरहेको छ ।

उद्धारमा तीनै सुरक्षा निकाय

प्रभावित क्षेत्रमा सेनाको हेलिकोप्टरबाट हवाई निरीक्षण भइरहेको छ । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । मौसम प्रतिकूल भएकाले तत्काल हेलिकोप्टर अवतरण गर्न नसकिए पनि उच्च जोखिममा परेका नागरिकलाई सुरक्षित स्थलमा सार्ने काम भइरहेको उप्रेतीले बताए ।

घर र सवारीसाधन बगेको प्रारम्भिक सूचना

उत्तरी क्षेत्रका सल्लेरी र जगत बजारमा केही घर तथा सवारीसाधन बगेको प्रारम्भिक सूचना आएको छ । क्षतिको पुष्टि हुन बाँकी रहेको र विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।

समयमै पूर्वसूचना जारी गरिएकाले तल्लो तटीय क्षेत्रका बस्ती तत्काल खाली गराउन सकिएको र अहिलेसम्म मानवीय क्षति नभएको प्राधिकरणको दाबी छ ।

चितवनसम्म जोखिम, नदी किनारमा नजान आग्रह

प्राधिकरणले बेनिघाट, मलेखु, मुग्लिन तथा त्रिशूली नदी तटीय क्षेत्र हुँदै चितवनसम्मका बजार र बस्तीलाई उच्च जोखिममा राखेको छ । स्थानीयलाई डाँडापाखातर्फ जान आग्रह गरिएको छ ।

सर्वसाधारणलाई नदी किनारमा नजान, बाढी हेर्न वा फोटो–भिडियो खिच्न नबस्न र बाढीले बगाएर ल्याएका दाउरा तथा सामान टिप्न नजान पनि भनिएको छ । अहिलेको मुख्य प्राथमिकता नागरिकको जीवन रक्षा, सुरक्षित स्थानमा स्थानान्तरण र आपत्कालीन उद्धार रहेको उप्रेतीले बताए ।