काठमाडौं,। फिफा विश्वकप फुटबल– २०२६ आज रातिबाट सुरु हुँदैछ । फुटबल इतिहासमै पहिलोपटक तीन देश अमेरिका, मेक्सिको र क्यानडा आयोजक रहेको विश्वकप फुटबल आज राति १२ः४५ बजे उद्घाटन हुनेछ । १९ जुलाईमा न्युयोर्कमा समापन हुने विश्वकपको सुरुवात तीनवटै आयोजक राष्ट्रमा विशेष उद्घाटन समारोहसहित हुँदैछ । पहिलो उद्घाटन समारोह मेक्सिको सिटी स्टेडियम, दोस्रो क्यानाडाको टोरन्टो र तेस्रो उद्घाटन अमेरिकाको लस एन्जलसमा हुनेछ ।

मेक्सिकोले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग उद्घाटन खेल खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले सहभागिता जनाउँदै छन् । यसअघि ३२ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए । त्यस्तै, प्रतियोगिता १६ सहरका १६ मैदानमा आयोजना हुनेछ । पछिल्ला संस्करणमा ६४ खेल हुँदै आएकोमा यसपटक फाइनलसहित १०४ खेल हुनेछन् ।

विश्वकपमा ब्राजिल लगातार २३औँपटक सहभागी हुँदै छ । पाँचपटकको विश्व च्याम्पियन ब्राजिलसँगै साबिक विजेता अर्जेन्टिना, फ्रान्स, पोर्चुगल, स्पेन र नेदरल्यान्ड्सलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ ।यस्तै उज्वेकिस्तान, केप भर्डे, कुराकाओ र जोर्डन पहिलोपटक विश्वकप खेल्दै छन् । यी नयाँ टोलीसँगै कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडा पनि पहिलो जितको खोजीमा छन् ।यस विश्वकपमा चारपटकको च्याम्पियन इटालीसँगै पोल्यान्ड, डेनमार्क, अफ्रिकी महारथी नाइजेरिया र क्यामरुनजस्ता चर्चित राष्ट्र भने छनोट हुन सकेका छैनन्  ।

४८ राष्ट्रमध्ये १० टिम अझै विश्वकपमा पहिलो जितको खोजीमा छन् । चार टिम विश्वकपमा डेब्यु गर्दै छन् भने ६ राष्ट्रले अहिलेसम्म जित निकाल्न सकेका छैनन् । चार देश उज्वेकिस्तान, केप भार्डे, कुराकाओ र जोर्डन पहिलोपटक विश्वकप खेल्दै छन् । यही चार टिमसँगै कतार, हाइटी, न्युजिल्यान्ड, इजिप्ट, इराक र क्यानडा विश्वकपमा पहिलो जितको खोजीमा छन् ।यसपटकको विश्वकपमा ब्राजिलका नेयमार, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोदेखि अर्जेन्टिनाका लियोनल मेसी, फ्रान्सका केलियन एम्बाप्पे, स्पेनका लामिन यमललगायत स्टार खेलाडी मैदानमा उत्रिँदै छन् ।