६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नहाल्ने, मुख्यमन्त्री थापा मगर
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ६ मिटरभन्दा कम चौडाइका सडक निर्माण तथा स्तरोन्नतिका लागि बजेट विनियोजन नगर्ने मापदण्ड बनाउन लागेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जिल्ला समन्वय समिति मकवानपुरद्वारा हेटौँडामा आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार नयाँ सडक खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिइनेछ भने तोकिएको मापदण्डअनुसार निर्माण भएका सडकको स्तरोन्नतिमा प्रदेश सरकारले लगानी गर्नेछ ।
टुक्रे योजनामा बजेट छर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले आगामी वर्षदेखि स्थानीय तहमा दर्ता भएका खानेपानी योजनालाई मात्र बजेट उपलब्ध गराउने गरी मापदण्ड तयार भइरहेको बताए ।
उनले सङ्घीय तथा प्रदेश सरकारबाट विनियोजित योजनाको प्रभावकारी कार्यान्वयनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै विकास निर्माणका काममा ढिलासुस्ती नगर्न र समयमै सम्पन्न गर्न आग्रह गरे ।
मुख्यमन्त्री थापा मगरले हेटौँडालाई स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको पनि बताए । साथै, बागमती प्रदेशको प्रशासनिक भवन निर्माणका लागि केही दिनभित्रै ठेक्का प्रक्रिया अघि बढाइने जानकारी दिए ।
विकास योजनाको गुणस्तर र प्रगति अनुगमनमा जिल्ला समन्वय समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा समेत उनले जोड दिए ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्