काठमाडौँ – अर्जेन्टिना र स्पेनबीच हुने विश्वकप फुटबलको बहुप्रतीक्षित फाइनलअघि एउटा दुर्लभ संयोगले विश्वभरका फुटबल समर्थकको ध्यान तानेको छ। झन्डै १९ वर्षअघि लियोनेल मेसीले पाँच महिनाका शिशु लामिन यमललाई नुहाइदिएको तस्बिर फेरि भाइरल बनेपछि फुटबल जगत् भावुक बनेको हो।
यो तस्बिर सन् २००७ को डिसेम्बरमा बार्सिलोनाको क्याम्प नोउ रङ्गशालाको ड्रेसिङ रुममा युनिसेफको परोपकारी क्यालेन्डरका लागि खिचिएको थियो। त्यतिबेला बार्सिलोनाका युवा स्टार मेसीलाई स्पेनको माटारोमा बस्ने एउटा परिवारसँग जोडिएको थियो। स्थानीय चिट्ठा प्रणालीमार्फत पाँच महिनाका शिशु लामिन यमललाई मेसीसँग फोटोसुट गर्ने अवसर मिलेको थियो।

फोटोग्राफर जोआन मोनफोर्टका अनुसार त्यतिबेला मेसी निकै लजालु थिए र शिशुलाई कसरी समाउने भन्नेमा अलमलमा परेका थिए। यमलकी आमाको सहयोगपछि मेसीले शिशु यमललाई नुहाइदिँदै काखमा राखेर खेलाएको ऐतिहासिक तस्बिर खिचिएको थियो।
वर्षौँसम्म सार्वजनिक चर्चाबाट टाढा रहेको यो तस्बिर सन् २०२४ को युरोकपका क्रममा यमलका बुबा मुनिर नासराउईले सामाजिक सञ्जालमा ‘दुई लेजेन्डको सुरुआत’ भन्ने क्याप्सनसहित सार्वजनिक गरेपछि फेरि विश्वभर चर्चामा आएको थियो।
अहिले त्यही पाँच महिनाको शिशु लामिन यमल स्पेनका युवा स्टारका रूपमा विश्वकप फाइनलमा अर्जेन्टिनाका कप्तान तथा फुटबलका महान् खेलाडी लियोनेल मेसीविरुद्ध मैदान उत्रने तयारीमा छन्। यस संयोगले फाइनललाई अझ रोमाञ्चक र भावनात्मक बनाएको छ।
मेसी र यमलबीच अरू पनि रोचक समानता छन्। दुवै बायाँ खुट्टाले खेल्ने राइट विङ्गर हुन्। दुवै बार्सिलोनाको प्रसिद्ध ला मासिया एकेडेमीबाटै फुटबल यात्रामा अघि बढेका हुन्। दुवैले आफ्नो प्रारम्भिक करियरमा १९ नम्बर जर्सी लगाएर रियल म्याड्रिडविरुद्ध पहिलो व्यावसायिक गोल गरेका थिए।

विश्व फुटबलका सर्वकालीन महान् खेलाडी मानिने मेसी र नयाँ पुस्ताका चम्किला प्रतिभा लामिन यमलबीचको यो ऐतिहासिक भेट केवल उपाधिको प्रतिस्पर्धा मात्र नभई फुटबल इतिहासकै सबैभन्दा दुर्लभ र स्मरणीय संयोगमध्ये एकका रूपमा हेरिएको छ।



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्