काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधनमाथि कारबाही, मादक पदार्थ सेवन गरी चलाउने १०२ चालक

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधनका चालक कारबाहीमा परेका छन्। चाडपर्वको समयमा ट्राफिक नियम पालना नगरी सवारी चलाउने प्रवृत्तिलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले निगरानी बढाउँदै कारबाहीलाई तीव्रता दिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालक रहेका छन्। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार गएको २४ घण्टामा मापसे गरी सवारी चलाउने १०२ चालक कारबाहीमा परेका हुन्

त्यस्तै, सीसी क्यामरामार्फत पहिचान गरिएका ३९ र रातो बत्तीको संकेत उल्लङ्घन गरी सवारी चलाउने २० चालकलाई कारबाही गरिएको छ। तीव्र गतिमा सवारी चलाउने ५७ चालकसमेत ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।

यसैगरी, अनावश्यक रूपमा हर्न बजाउने आठ, लेन अनुशासन पालना नगर्ने तीन तथा सवारीसाधनको अवस्था ठीक नभएका दुई सवारीसाधनमाथि कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए। अन्य विभिन्न कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको उनले बताए।

ट्राफिक प्रहरीले चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने र लापरबाहीका कारण दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले नियम उल्लङ्घन गर्ने चालकमाथि कडा निगरानी राख्दै आएको छ। प्रहरीले मापसे गरेर सवारी नचलाउन, तीव्र गति नियन्त्रण गर्न, ट्राफिक संकेतको पालना गर्न तथा लेन अनुशासन कायम राख्न चालकहरूलाई आग्रह गर्दै आएको छ।