ललितपुर – “भ्रष्ट नेता र भ्रष्टाचारविरुद्ध लड्नैपर्छ, अहिले नलडे कहिले लड्ने?” जेनजी आन्दोलनमा लाग्नु अघि ललितपुर–७ पाटन सुन्धारा–दुपातका ३४ वर्षीय विनोद महर्जनले साथीभाइसँग यस्तै भनेका थिए। “म मारिएछु भने पनि गणतन्त्रको दियो निभ्न नदिनु,” भनेर अघि बढेका उनले भदौ २३ गते नयाँबानेश्वरस्थित संसद् भवन अगाडि गोली लागेर सधैंका लागि ढले। अधुरो सपना बोकेर गएर, उनी यो संसारबाट बिदा भए।
विनोद दाह्रीजुँगा बाक्लो, लामो कपाल भएका र निडर स्वभावका थिए। सानैदेखि अन्याय सहन नसक्ने, छलछाम नगर्ने र आलोचना गर्नुपरे सिधै गर्ने हक्की स्वभाव उनीमा थियो।
उनका पिता बाबुकाजी महर्जन र आमा लतमाया महर्जनका कान्छो सन्तान विनोदले मुलुकमा व्यवस्था परिवर्तनका लागि युवाहरूले सशक्त आन्दोलन गर्नैपर्छ भन्ने विचार राख्थे। बाहिरी हुलियाले उनलाई अनौठो ठाने पनि, उनका भनाइ सुनेपछि धेरै प्रभावित हुन्थे। यही स्वभावले उनलाई समाजमा अलग पहिचान दिलाएको थियो।
उनकी आमा लतमायाले विनोद सम्झँदै नेवारी भाषामा भने, “मैले भात खाउ भनेँ, उसले भन्यो, अहिले म खाँदिनँ, साथी आइसक्यो, एकछिन बाहिर गएर आएपछि खान्छु।”
अन्ततः, बिना खाना निस्केका विनोद आन्दोलनमा गएर गोली लागेर ढले। नयाँबानेश्वर चोकमा भएको घटनामा उनको मुख र टाउकोमा दुई गोली लागेका थिए। गोली लागेपछि साथीहरूले उनलाई नजिकको एभरेष्ट अस्पताल लगे, तर त्यहाँ पुग्नुअघि नै उनको निधन भइसकेको थियो।
सानै उमेरमा बुबा गुमाएका विनोद आफ्ना तीन दिदीबहिनी, एक दाजु र आमासँग बस्दै आएका थिए। लामो समयदेखि मूर्ति बनाउने काम गर्दै आएका उनी पछिल्लो समय ‘वाल पेन्टिङ’मा संलग्न थिए। दिदी विना महर्जनका अनुसार, एसएलसी असफल भएपछि दैनिक अभ्यास र स्वअध्ययनबाट उनले मूर्ति र पेन्टिङमा दक्षता हासिल गरेका थिए।
“देश र परिवारका लागि केही गरौँ अनि मात्र विवाह गरौँला,” विनोदको सपना थियो, तर त्यो सपना जेनजी आन्दोलनमै अधुरै रह्यो। दिदी विना भन्छिन्, “अघिल्लो दिन राति उनले चित्र बनाउँदै राति अबेरसम्म काम गर्नुभयो। बिहान १० बजे साथीहरू आएर उनलाई उठाएर लगे, आन्दोलनमा जान।” आमाले खाना खान बोलाउँदा विनोदले भने, “साथी बोलाउन आए, एकछिन बाहिर गएर आउँछु, अनि खान्छु,” र सिधै बानेश्वर पुगेर आन्दोलनमा सहभागी भए।
शुरुमा उनी आन्दोलनकारीलाई पानी वितरण गरेर सहयोग गरिरहेका थिए। दिदी विना भन्छिन्, “हामी फेसबुक लाइभमार्फत देखिरहेका थियौँ। त्यतिखेर आन्दोलन चर्कंदै गएपछि प्रहरीले गोली हाने, त्यसपछि भाइको लाइभ बन्द भयो। गोली लागेको कुरा साथीहरूले घरमा खबर गरे।”
उनका दाजु काजीरत्न महर्जनका अनुसार, विनोद आफै दलगत आन्दोलनमा नजाने स्वभावका थिए, तर भ्रष्टाचारविरुद्धको आवाजमा मौन बस्न सकेनन्। “जेनजी आन्दोलन भ्रष्टाचारविरुद्ध पनि हो भन्ने थाहा पाएपछि उनले स्वतःस्फूर्त रूपमा साथीहरूसँग आन्दोलनमा सहभागी भए,” उनले बताए।
विनोद बहुप्रतिभाशाली थिए। मूर्तिकला, सुनलेपन र चित्रकला उनीमा निपुण थियो। बाँसुरी र धिमे बाजामा दक्ष, पाहुना सत्कार उनको अर्को गुण थियो। घरका भित्ताभरि मूर्ति र पेन्टिङले सजिएको उनको संसार आज शून्य बनेको छ।
गोली लागेर एभरेष्ट अस्पताल पुगेपछि रातभर त्यहाँ राखियो। भोलिपल्ट महाराजगन्ज शिक्षण अस्पतालको शवगृहमा राखियो। केही दिनपछि पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरियो। उनको परिवारलाई राज्यबाट सहिद घोषणा भएपछि रु १५ लाख उपलब्ध गराइयो, ललितपुर महानगरपालिकाबाट पाँच लाख प्राप्त भयो।
दिदी विना भन्छिन्, “हामीले जेनजी सहिद परिवारलाई विभिन्न खाले सहयोग मागेका छौँ, तर अहिलेसम्म केवल आश्वासनमा सीमित छ। हामी चाहन्छौँ कि विनोदजस्ता युवाले फेरि देशका लागि ज्यान गुमाउन नपरोस्।”
जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये ४५ जनालाई सरकारले जेनजी सुशासन योद्धा घोषणा गरेको छ। सहिद परिवारलाई आर्थिक सहयोग, रोजगारी र मासिक भत्ता उपलब्ध गराउने योजना अघि बढाइरहेको छ।
सहिद विनोद महर्जनको बलिदान भ्रष्टाचारविरुद्धको निडर चेतनाको प्रतीक हो। दलगत राजनीतिभन्दा माथि उठेर सत्य र न्यायको पक्षमा उभिएका उनले युवाहरूको विवेक र साहसलाई बन्धक बनाउनु हुँदैन भन्ने सन्देश छाडेर गएका छन्। उनको बलिदानले गणतन्त्रको दियो निभ्न नदिन समाज, राज्य र नागरिक सबै जिम्मेवार हुनुपर्ने सन्देश दिएको छ।


COMMENT
.