काठमाडौं,। गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो,’ उनले भने, ‘हृदयघात भएको रहेछ ।’इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् ।४२ वर्षिय तामाङले नेपाली फिल्ममा अभिनय र गायन पनि गरेका छन् ।
नारायण रायमाझी निर्देशित फिल्म ‘गोर्खापल्टन’ बाट उनले नेपाली फिल्मको अभिनयमा डेब्यू गरे । ‘हिम्मत २’ बाट पहिलोपटक नेपाली फिल्मको पाश्र्वगायनमा काम गरे ।त्यसयता उनले अँगालो मायाको, किन मायामा, धड्कन भित्र, निशानी, परदेशी को भाग १ र २ मा अभिनय गरे । दिल, अनमोल छन् र हिम्मत २ मा उनले पाश्र्वगायन गरेका छन् । उनले सलमान खान स्टारर फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउड डेब्यू गरेका थिए ।
यो फिल्मको छायांकन सकिएको छ र उनी डबिङको तयारीमा थिए । ‘परिवारप्रति लगाव राख्ने र करियरका लागि पनि उत्तिकै सचेत थिए । दिल्लीमा छोरीसँगै बसिरहेका प्रशान्तको कार्डियक अरेष्टका कारण निधन भएको बताइएको छ। दार्जीलिङमा जन्मिएका तामाङ साधारण परिवारबाट आएका हुन् । गायन क्षेत्रमा प्रवेश गर्नुअघि उनी कोलकाताको प्रहरी सेवामा कार्यरत थिए, जहाँ सुरक्षाको जिम्मेवारी र संगीतप्रतिको मोहलाई सँगसँगै अघि बढाएका थिए । इन्डियन आइडलमा उनको यात्रा सजिलो थिएन। साधारण पहिरन, सादा स्वभाव र भावनात्मक गायन शैलीका कारण उनी छिट्टै दर्शकको मन जित्न सफल भए ।
उनको आवाजमा रहेको आत्मीयता, लोकभाव र भावप्रवण प्रस्तुतिले निर्णायक मात्र होइन, करोडौँ दर्शकलाई प्रभावित गर्यो । अन्ततः २००७ मा उनले उपाधि जितेपछि नेपालीभाषी समुदायमा उत्सवको माहोल बन्यो ।यो जित केवल व्यक्तिगत सफलता मात्र थिएन, नेपाली पहिचान र प्रतिभाको अन्तर्राष्ट्रिय स्वीकारोक्ति पनि थियो । उपाधि जितेपछि प्रशान्त तामाङले हिन्दी, नेपाली तथा अन्य भाषामा गीतहरू गाए । उनले चलचित्रका लागि पनि पार्श्वगायन गरे र विभिन्न सांगीतिक कार्यक्रममार्फत दर्शकसँग निरन्तर जोडिँदै आए। प्रशान्तले सन् २०११ मा पूर्व एयर होस्टेस मार्था एलीसँग विवाह गरेका थिए र सन् २०२२ मा छोरी आरियाको जन्मपछि परिवारसँग खुसी जीवन बिताइरहेका थिए ।
दुर्भाग्यवश, जनवरी ११, २०२६ दिल्लीस्थित आफ्नै निवासमा मात्र ४२ वर्षको उमेरमा उनको असामयिक निधन भयो । उनको यो प्रस्थानले नेपाली भाषी संगीत तथा चलचित्र जगतमा ठूलो शोक उत्पन्न गरेको छ ।उनले नेपाली पहिचान र गोर्खा गौरवलाई विश्व मञ्चमा चिनाउन महत्वपूर्ण योगदान दिएका थिए । उनको सम्झना सधैं अमर रहनेछ।


COMMENT
.