काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजेदेखि बस्ने तालिका छ । यस बैठकमा मंसिर २७ गतेदेखि हुन लागेको एघारौँ महाधिवेशन तयारीबारे छलफल हुनेछ।
बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिन लागेको औपचारिक जानकारी गराउने तयारी गरेका छन् ।अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक आफू नेतृत्वमा फर्किने तयारी गरिरहेका बेला पोखरेलले उनलाई टक्कर दिन लागेका हुन् । एमालेका एकजना शीर्ष नेताका अनुसार बैठकअघि यसबारे पोखरेल समूह छलफल गरिरहेको छ।
एमालेका ती नेताका अनुसार पोखरेलले आफ्नो उम्मेदवारीबारे आगामी ८ गते औपचारिक घोषणा गर्दैछन्। पोखरेलले घोषणा गरेपछि अन्य नेता पनि टिममा जोडिँदै जाने छन् । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगरिदिएपछि पोखरेललाई अगाडि सारिएको हो ।
एमाले नेताहरूका अनुसार पूर्वराष्ट्रपति भण्डारी समर्थक नेताहरूले पोखरेललाई साथ दिँदैछन् । ओलीसँग असन्तुष्ट एक ठाउँमा उभिए महाधिवेशनमा कडा प्रतिस्पर्धाको सम्भावना बलियो छ ।


COMMENT
.