चालु आर्थिक वर्षको १० महिनामा नेपालमा खानेतेल आयात अस्वाभाविक रूपमा बढेको छ। भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा मात्रै नेपालले १ खर्ब ४५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको खानेतेल तथा तेलजन्य वस्तु आयात गरेको छ।
यस अवधिमा कुल ८७ करोड ३१ लाख ४८ हजार लिटरभन्दा बढी तेल आयात भएको देखिएको छ। सो आयातबाट सरकारले १० अर्ब ४७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब २० अर्ब ६७ करोड रुपैयाँ बराबरको तेल आयात भएको थियो। यस वर्ष आयात उल्लेख्य रूपमा बढेको देखिन्छ।
नेपालमा यति ठूलो परिमाणमा तेल आयात हुनुको मुख्य कारण कच्चा तेल आयात गरी नेपालमै प्रशोधन गरेर भारततर्फ निर्यात गर्ने ‘रि–एक्सपोर्ट’ व्यापार मोडल रहेको देखिएको छ।
दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत कम भन्सार दरको सुविधा प्रयोग गर्दै नेपाली उद्योगहरूले अर्जेन्टिना, ब्राजिल लगायतका देशबाट कच्चा तेल आयात गर्ने र त्यसलाई प्रशोधन गरी भारत निर्यात गर्ने गरेका छन्।
भटमास तेलको वर्चस्व
आयात भएको तेलमध्ये सबैभन्दा ठूलो हिस्सा भटमास तेलको रहेको छ। १० महिनामा मात्रै १ खर्ब ६ अर्ब रुपैयाँभन्दा बढीको भटमास तेल आयात भएको छ, जुन कुल आयातको झण्डै ७३ प्रतिशत हो।
नेपालले मुख्य रूपमा अर्जेन्टिना र ब्राजिलबाट कच्चा भटमास तेल आयात गर्ने गरेको छ। त्यसपछि चीन, थाइल्याण्ड, पाराग्वे र युक्रेनलगायत देशबाट पनि आयात भएको देखिन्छ।
त्यसपछि सूर्यमुखी तेल र पाम आयलको आयात पनि उल्लेख्य छ। विशेषगरी इन्डोनेसिया र मलेसियाबाट पामजन्य तेल आयात हुने गरेको छ भने अर्जेन्टिना सूर्यमुखी तेलको प्रमुख स्रोत बनेको छ।
ओलिभ आयल, नरिवल तेल, तोरी तेल, तिलको तेल र मकैको तेल पनि विभिन्न देशबाट आयात हुने गरेको तथ्याङ्कमा उल्लेख छ।
भारततर्फ ठूलो निर्यात
यही अवधिमा नेपालले प्रशोधित तेल निर्यात गरेर १ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक मुद्रा आर्जन गरेको छ।
नेपालबाट निर्यात भएको तेलमध्ये ९९ प्रतिशतभन्दा बढी भारतमा गएको देखिन्छ। मुख्य रूपमा भटमास, सूर्यमुखी र पाम तेल प्रशोधन गरी भारत निर्यात गरिएको हो।
भटमास तेल मात्र १ खर्ब रुपैयाँभन्दा बढीको निर्यात भएको छ। सूर्यमुखी र पाम तेल पनि अर्बौं रुपैयाँ बराबरमा भारत पठाइएको छ।
यसरी नेपाल तेल आयातमा ठूलो परिमाण देखिए पनि वास्तविक रूपमा यसको ठूलो हिस्सा प्रशोधन र पुनः निर्यात (रि–एक्सपोर्ट) व्यापारसँग जोडिएको भन्सार तथ्याङ्कले देखाएको छ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्