अमेरिकाको नेब्रास्का राज्यस्थित ब्राउननेल ट्याल्बोट स्कुलकी छात्रा एन्जल भण्डारीले रोबोटिक्समा विश्व च्याम्पियन बनेर अन्तर्राष्ट्रिय इतिहास रचेकी छन्।

सन् २०२६ को अप्रिलमा मिसौरीको सेन्ट लुइसमा सम्पन्न प्रतिष्ठित ‘भेक्स रोबोटिक्स वर्ल्ड च्याम्पियनसिप’ मा एन्जल सम्मिलित टोलीले विश्वभरका ७ हजारभन्दा बढी टोलीहरूलाई पछि पार्दै उपाधि जितेको हो।

प्रतियोगिताको इतिहासमै दुर्लभ मानिने २३–० को अपराजित प्रदर्शन गर्दै उनको टोली विश्व च्याम्पियन बन्न सफल भएको हो।

यस विश्वस्तरीय प्रतिस्पर्धामा एन्जलले टोली संयोजक, रणनीतिकार र सञ्चालन नेतृत्वकर्ताको महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। विद्यार्थीहरूले आफैं रोबोटको डिजाइन, इन्जिनियरिङ, निर्माण र प्रोग्रामिङ गरेका थिए। यसमा एन्जलको व्यवस्थापकीय क्षमता र प्राविधिक दक्षता निर्णायक बनेको बताइएको छ।

रोबोटिक्ससँगै उनले अन्तर्राष्ट्रिय बिजनेस प्लान प्रतियोगितामा पनि राष्ट्रिय स्तरको फाइनलिस्ट बन्न सफल भएकी थिइन्। अब उनी न्यूयोर्कको फोर्डह्याम विश्वविद्यालयमा ग्लोबल बिजनेस र फाइनान्स विषयमा उच्च शिक्षा अध्ययन गर्ने तयारीमा छिन्।

संखुवासभा जिल्लाको चैनपुर घर भएका ग्यानेन्द्र भण्डारी र स्मृति राणा भण्डारीकी छोरी एन्जलको यो सफलताले विश्वभर रहेका नेपाली समुदायमा गर्वको अनुभूति दिलाएको छ।

नेब्रास्कामा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका उनका बुबा ग्यानेन्द्र भण्डारी त्यहाँको नेपाली समुदायमा अगुवा व्यक्तित्वका रूपमा परिचित छन्।

एन्जल भण्डारीको यो ऐतिहासिक उपलब्धि नेपाली मूलका युवाका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रेरणादायी सफलता बनेको छ।